गौरा पर्वको दोस्रो दिन : आज नानी गौरा मनाइँदै

बैतडी : सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदै छ। व्रतालु महिलाहरुले आज अघिल्लो दिन भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन छ। आजको दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भन्ने चलन छ। सवाँ, अपामार्ग लगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई पानीको मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ। अघिल्लो दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रही आएको सुर्नया गाउँपालिका–६ की हरिना अवस्थीले बताइन्। बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन छ। आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझ पख मिठोमसिनो खाने चलन रहेको अवस्थीले बताइन्। बिरुडा र फलफूलसहित व्रतालु महिलाहरुले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्ने गर्दछन्। पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी प्राप्त भएको विश्वास गरिन्छ। यसरी भएको गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए।  सप्तमीका दिन गौरालाई भित्र्याउने चलन छ। उक्त दिन महिलाहरुले धारणा गर्ने विशेष प्रकारको धागो (दुवधागो) गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावालीका दिन धारण गर्ने चलन छ।   तागाधारी पुरुषहरुले जनै धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुवधागो धारणा गर्ने गर्दछन्। शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अधेरी गौरा भनिन्छ।

Comments

Related Post

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठलाई आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्। लुम्बिनी प्रदेशको योजना...

जलेश्वर, महोत्तरी सदरमुकाम जलेश्वरमा करदाता सेवा कार्यालय सञ्चालनमा आएको छ । यसअघि धनुषाको जनकपुरधाममा भरपर्दै आएका महोत्तरीका १५ मध्ये १३...

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...