कब्जियत हुन्छ? यसरी हटाउनुस् सजिलै

बिहान ट्वाइलेट बस्दा कति समय लाग्छ? कत्तिको गाह्रो हुन्छ? कत्तिको गन्ध आउँछ? ध्यान दिनुभएको छ?

यही बिहानीबाट हाम्रो दिनको सुरुवात हुन्छ। बिहान ठीक समयमा पेट सफा हुने गरी दिसा नहुनु नै कब्जियत हुनु हो। तर दैनिक दिसा भएर पनि दिसा खलाँस भएको महसुस नुहनु, पेट भारी हुनु पनि कब्जियत हो। यसलाई अर्को अर्थमा अपच पनि भनिन्छ। 

कब्जियत भए नभएको थाहा पाउने कसरी?  

१. शौच गर्दा लाग्ने समय हेरेर– बिहान दिसा बस्दा करिब २ देखि ३ मिनेटमा गरी सक्नुपर्छ। अन्यथा अपच भनेर बुझ्नु पर्छ।

२. दिसाको प्रकारले– हामीले खाएको खाना सही तरिकाले पाचन भएमा दिसा सेल जस्तो बाँधिएको नरम आउँछ। यदि दिसा कडा वा पातलो भएमा कब्जियत भयो भनेर बुझ्नु पर्छ। 

३. दिसाको गन्धले– दिसा बस्दा नाकले कति अप्ठ्यारो महशुस गर्छ? जति चर्को गन्ध त्यति कब्जियत हुन्छ।

४. मलद्वारमा कत्तिको च्यापच्याप लाग्छ हेरेर– दिसा गरिसकेपछि पखाल्दा मलद्वारमा जति च्यापच्याप लाग्छ त्यति नै भित्र फोहोर जम्मा भएको हुन्छ।

यसरी कब्जियत भए–नभएको, खाएको मिले–नमिलेको सजिलै थाहा पाउन सकिन्छ। यसका लागि कुनै अस्पताल या ल्याबमा गइरहनु पर्दैन। हाम्रो शरीर नै सबैभन्दा ठूलो ल्याब हो। खाएको मिले–नमिलेको देखिने पहिलो ठाउँ पनि शरीर नै हो। शरीरको यो सामान्य बोलीलाई मात्र ध्यान दिएमा हामी स्वस्थ रहन सक्छौं। 

तसर्थ बिहान उठ्नेबित्तिकै करिब २–३ मिनेटभित्र गन्धरहित, च्यापच्याप नलाग्ने, सेल जस्तो बाँधिएको मल निष्कासन भएमा कब्जियत छैन र खाएको राम्रोसँग पचेको छ भनेर बुझ्नु पर्छ।

कब्जियतका लक्षणहरूः

– कब्जियतको पहिलो लक्षण ठीक समयमा पेट सफा हुने गरी दिसा नहुनु हो। 

– साधारणतया हामी दिसा कडा हुनु, दिसा २–४ दिनसम्म नहुनु र दिसा गर्न गाह्रो हुनुलाई मात्र कब्जियत भनेर बुझ्छौं। तर वास्तवमा दिसा बारम्बार हुनु, पातलो हुनु र दिनको तीन–चार पटक हुनु पनि कब्जियत हो।

– दिसा कडा र सुख्खा हुनु, दिनको २–४ पटक ट्वाइलेट जानुपर्ने हुनु।  

– गन्हाउने दिसा हुनु। 

– ग्यासको समस्या हुनु। 

– धेरैबेर ट्वाइलेटमा बस्नुपर्ने हुनु। 

– पेट भारी हुनु, पेट फुल्नु, शरीर लोसे हुनु।

– भोक नलाग्नु। 

– आलस्य, चिडचिडापन, अनिद्रा, थकान हुनु। 

– टाउको दुख्नु, वाकवाकी लाग्नु, छाती, घाँटी पोल्नु, आँखा पोल्नु। 

– काममा ध्यान नजानु, रिस उठ्नु।

कब्जियत हुनुका कारणहरूः

– कब्जियत हुनुको मुख्य कारण खानामा कार्बोहाइड्रेट (भात, रोटी, ढिँडो)को मात्रा बढी हुनु, रेशा र छोक्राबोक्रासहित प्राकृतिक आहार नुहुनु हो।

– मैदाबाट बनेका, चिल्लो, तारे, भुटेका, पिरो, बढी मरमसला, गरम मसला, खुर्सानी र नुन खानाले।  

– भारी खानाहरू माछा, मासु, अण्डा, दुग्ध पदार्थ बढी खानाले।

– धेरैचोटी, छिटोछिटो, राम्ररी नचपाई र बीचबीचमा कुचुकुचु खाने बानीले।

– जंक फुड, फास्ट फुड, बढी गर्मी गराउने खाना, चिया, कफी, कोल्ड ड्रिंक, तयारी पेय पदार्थ आदि धेरै खानाले।

– चुरोट, खैनी, जाड, रक्सी जस्ता नशाजन्य पदर्थ खानाले। 

– खानासँग पानी पिउनाले। 

– ढिलो सुत्ने र ढिला उठ्नाले

– दैनिक व्यायाम नगर्नाले

– दिसा रोक्ने बानीले

– पानीको कमीले। जसरी बाहिर फोहोर भयो भने पानीले सफा गरिन्छ, त्यसैगरी हाम्रो शरीरमा पनि खाना खाएपछि जम्मा भएको फोहोर सफा गर्न पानी चाहिन्छ। पानीको कमीले फोहोर निष्कासन हुन पाउँदैन र कब्जियत हुन्छ।

– धेरै चिन्ता, रिस, मोह, लोभ आदिले शरीरमा मानसिक तनाव बढ्छ। अनिद्रा हुन्छ जसले पाचनमा गडबडी भई कब्जियत हुन्छ। 

कब्जियत पनि एक प्रकारको जीर्ण रोग हो र सबै रोगको घर पनि। कब्जियतलाई बुझ्न पाचन प्रणालीबारे बुझ्न जरुरी छ।

पाचन प्रणालीः

हामी जे खान्छौ, त्यो पाचन भएर शरीरलाई चाहिने रस सोसिएर बाँकी अंश (मल) बाहिर निष्कासन हुनुपर्छ। यो काम २४ घन्टामा हुनुपर्छ। समयमा मल निष्कासन नभएमा के हुन्छ? कुहिन्छ।

कुहिएपछि दुर्गन्ध फैलिन्छ। त्यसबाट ग्यास बन्छ। ग्यासको स्वभाव माथिमाथि उठ्नु र फैलनु हो। त्यो दुर्गन्धित ग्यास फैलिएर शरीरका सबै अंगमा पुग्छ र अंगहरूको काममा बाधा पर्छ जसलाई हामी रोग भन्छौं।

त्यसैगरी त्यही कुहिएको मल आन्द्रामा पुग्छ। आन्द्राको काम बाँकी रस सोस्नु हो। आन्द्राले त्यो कुहिएको रस सोसेर रगतमा मिसाउँछ र रगत फोहोर हुन्छ। तसर्थ रोगको मूल नै कब्जियत हुनु हो। त्यसैले कब्जियतलाई रोगको जननी भनिन्छ। कब्जियतबाटै मोटोपन र मोटोपनपछि अन्य जीर्ण रोग सुगर, प्रेसर, बाथ, दम, मुटुरोग, टाउको दुख्ने, रगतमा कोलेस्टेरोल बढ्ने आदि हुन्छ। 

कब्जियत तीव्र रूपमा भएसम्म निको हुन सजिलो हुन्छ। तर जब कब्जियत जीर्ण हुन्छ तब निकै कष्टकर हुन्छ। यसले दिसा बस्दा निकै पीडा हुने, मलद्वारमा घाउ हुने, रगत देखा पर्ने र पछि गएर पायल्स, फिस्टुला लगायत अरू स्वास्थ्य समस्या आउँछ।

त्यसैले कब्जियत हुन नदिनु भनेको शरीरमा आउने स्वास्थ्य समस्या तीव्र रोग (रुघा, खोकी, ज्वरो, वान्ता, घाउ-खटिरा) लगायत मोटोपनदेखि अधिकांश जीर्ण, दीर्घ रोगबाट मुक्त हुनु हो। 

कब्जियत जति चर्को भए पनि यसलाई हटाउन सकिन्छ। यसका लागि हामीले दैनिक गर्ने केही कुरामा ध्यान दिनुपर्छ।

कब्जियत हुन नदिन दैनिक आहार कस्तो हुनुपर्छ?
अहिले संसारभर पोषक आहार चाहिन्छ भनेर बढी ध्यान दिइन्छ। तर जुनसुकै आहार खाए पनि पाचनका लागि निष्कासक आहार उत्तिकै चाहिन्छ। त्यसैले दैनिक खानामा पाचनका लागि ६० देखि ७० प्रतिशत निष्कासक आहार आवश्यक पर्छ।

निष्कासक आहारहरूः 

१. चोकरसहितका अन्न

२.सबै खाले हरिया सागसब्जी

३. काँचो सलाद फलहरू

हामीले खाने दैनिक आहारमा यी खाना प्रशस्त हुनुपर्छ। प्रकृति प्रेमी निरोगधामले यी तीनथरी आहारको मिश्रणलाई ‘तीन बराबर आहार’ का रूपमा प्रस्तुत गरेको छ। यी तीनथरी मिलाएर खाँदा शरीरलाई चाहिने रेशा-छोक्राबोक्रा प्रशस्त मिल्छ र कब्जियत हुन पाउँदैन। 

खाना खाने उचित तरिकाः 

नास्ताः यदि बिहान ९–१० बजे खाना खाने हो भने नास्ता नलिने। तर खाना ढिलो (११–१२) बज्छ भने लिने। नास्तामा हल्का आहार, फलफूल वा ताजा तरकारीको सुप लिने।

बिहानको खानाः बिहानको खाना ९–१० बजे लिने। हामीले खाने खानामा कार्बोहाइड्रेट, एक दलीय अन्न (भात, रोटी, ढिँडो, च्याँख्ला) आदि जति लिइन्छ, त्यत्तिकै मात्रामा हरिया तरकारीहरू- करिब ३०० ग्राम र काँचो सलाद करिब १५० देखि २०० ग्राम लिने। मोटोपन धेरै छ भने कार्बोहाइड्रेट अर्थात खानाको मात्रा २५ प्रतिशत कम गर्ने। 

दिउँसोको खानाः बिहान ९–१० बजे भित्र खाना खाँदा खाजा दिउँसो २–३ बजेभित्र लिने। नास्तामा मौसम अनुसारका फलफूल अथवा ताजा तरकारीको सुप लिने। 

बेलुकीको खानाः बेलुकी ७–८ बजेभित्र खाना खाने। बेलुकीको खाना बिहानजस्तै लिने। तर ध्यान दिनुपर्ने कुरा, दिउँसो टन्न खाजा खाएको छ भने बेलुकी हल्का फलफूल अथवा तरकारी मात्र लिने। बेलुकी कहिल्यै पनि भरी खानेकुरा नखाने।

माछा, मासु अण्डा, दुग्ध पदार्थः प्रोटिनका लागि खाने यी मांसाहारी आहारहरू पाचन अनुकूल नहुने र रेशा-छोक्राबोक्रा नहुनाले सही तरिकाले पच्न पाउँदैन र कब्जियत हन्छ। त्यसैले यी आहार नखाँदा कब्जियत चाँडै हट्छ।  

प्रोटिनका लागिः टुसा उमारिएका दाल, गेडागुडी र सुख्खा फल लिन सकिन्छ। तर चर्को कब्जियत र मोटोपन भएकाले केही समय यी खाद्यान्न पनि नलिनु उपयुक्त हुन्छ। लिनै परे खाने अन्नको १० प्रतिशत मात्र लिने।

पानीको प्रयोगः 

– बिहान उठ्नेबित्तिकै करिब १ लिटर मनतातो पानी पिउने। 

– खाना र खाजा खाएको एक घन्टा अघि र पछि मात्र पानी पिउने। कुनै पनि ठोस आहारसँग पानी नलिने।

– दिउँसो प्रति घन्टा एक-एक गिलासका दरले पिउने।

– राती सुत्दा १ गिलास मनतातो पानी पिएर सुत्ने।

पानी सामान्यतः चिसो पिउनु उत्तम हुन्छ। तर रुघाखोकी, कफ सम्बन्धी समस्या भए मनतातो पिउने। धेरै पोल्ने पानीले कब्जियत हुन्छ। त्यसैले पानी मनतातो मात्र लिने।

दैनिक गतिविधि कस्तो हुनुपर्छ?

ठीक समयमा सुत्ने, ठीक समयमा उठ्नेः कब्जियत हुनुको मुख्य कारण ढिला सुत्नु र ढिला उठ्नु पनि हो। ढिला सुत्नाले खाएको खाना राम्रोसँग पच्न पाउँदैन भने ढिला उठ्दा पाचन भएर बाहिर निष्कासन हुन तयार भएको मल ठीक समयमा निष्कासन हुन पाउँदैन र कब्जियत हुन्छ।

त्यसैले बेलुकी १० देखि ११ बजेभित्र सुत्नु र बिहान सूर्य उदाउनु अगाडि वा पाँच बजे उठ्नु स्वास्थ्य हिसाबले उत्तम हुन्छ। त्यसैगरी बेलुकी खाना खानेबित्तिकै नसुत्ने। खाना खाएको करिब २ देखि ३ घन्टापछि मात्र सुत्ने।

निद्राः स्वस्थ हुन निद्रा अति आवश्यक कुरा हो जुन ६ देखि ८ घन्टाको हुनैपर्छ।

दिशा-पिसाब नरोक्नेः दिसा रोक्दा फोहोर भित्रै अड्किन्छ र कब्जियत हुन्छ। त्यसैगरी दिसा बस्दा गर्ने गतिविधिले पनि कब्जियत हुन जान्छ। दिसा गर्दा बल गर्नु हुँदैन। बल गर्दा मलद्वारमा घाउ हुने जस्ता समस्या हुन्छ।

नियमित व्यायाम गर्नेः  दिनको ४५ मिनेटदेखि १ घन्टा शरीरको क्षमता अनुसार व्यायाम गर्ने। 

काम र आरामको सन्तुलन गर्नेः शरीरलाई काम पछि आराम र आराम पछि काम हुनुपर्छ। बढी आराम र बढी काम नगर्ने। 

मेरुदण्ड सिधा र खुकुलो राख्नेः हाम्रो मेरुदण्डको प्रकृति सिधा हो। त्यसैले जुनसुकै काम गर्दा पनि मेरुदण्ड सोझो र खुकुलो हुनुपर्छ।

कुनै पनि शारीरिक वेगहरू नरोक्नेः हाँछ्यू, खोकी आदि वेगहरू नरोक्ने। 

विचार कस्तो हुनुपर्छ?

– खानाले हाम्रो शरीर बन्छ, त्यही खानाले रगत पनि बन्छ। त्यसैले खाना त्यस्तो हुनुपर्छ जसले शरीरको आकार पनि ठीक होस् र विचार पनि शान्त रहोस्। तसर्थ खाना जहिल्यै पनि सुपाच्य सादा शाकाहारी, प्राकृतिक हुनुपर्छ भन्ने बुझ्नुपर्छ।

– खाना जिब्रोको स्वाद र मनका लागि खाने होइन, तसर्थ खाना मनपर्ने, मननपर्ने, मिठो-नमिठो होइन, शरीरका लागि के उपयुक्त हुन्छ, त्यो खानुपर्छ भन्ने बोध हुनुपर्छ।

– शरीरलाई आवश्यकताभन्दा बढी खाएर स्वास्थ्य लाभ हुँदैन। शरीरले पचाउन सक्ने र ठिक्क खानुपर्छ भन्ने बुझ्ने।

–रिस, मोह, तनाव, चिन्ता आदि जस्ता विचार नगर्ने। 

कब्जियत हुनेले ध्यान दिनुपर्ने कुराहरूः

–कब्जियत हुनेले सबभन्दा बुझ्नु पर्ने कुरा दैनिक खानामा कार्बोहाइड्रेट मात्रा कम गरी प्रशस्त निष्कासक आहार, हरिया सागसब्जी र काँचो सलाद बढाउने। 

– सेतोको सट्टा खैरो चामल, जंक र तयारी खानाको सट्टा घरकै खानाः मकै, रोटी, फापर, कोदो आदि प्रयोग गर्ने।

– मरमसला, चिल्लो, तारे-भुटेका गरिष्ठ भोजन नखाने।

– नुन कम गर्ने। सके हप्तामा एक दिन नुन बन्द गर्ने। चर्को कब्जियत हुनेले हप्ताको एक दिन फलाहार गर्दा चाँडै कब्जियत खुल्छ। फलफूल खाँदा खानाजस्तै पेट भरी खाने। दिनको ३ देखि ४ पटक फल लिन सकिन्छ। यसले चाडै कब्जियत खुलाउँछ।

–कुचुकुचु नखाने। एक खाना र अर्को खानाको अन्तर कम्तिमा ४ देखि ५ घन्टाको गर्ने। बीचमा एकएक घन्टाको अन्तरमा पानी बाहेक अन्य ठोस आहार नलिने।

–दाँत आन्द्रामा होइन, मुखमा हुन्छ, त्यसैले खाना चपाइचपाइ शान्त रहेर खाने। खानासँग धेरै झोल र पानी नपिउने। धेरै झोल र पानी लिँदा मुखको पाचक रस कम गरी पाचन ढिला गर्छ।

– पानी नियम पुर्‍याएर पिउने। दिनमा लगभग ३ देखि ४ लिटर। बिहान उठ्नेवित्तिकै करिब एक लिटर मनतातो पानी अनिवार्य पिउने। 

– दैनिक बिहान एक घन्टा शरीरबाट पसिना निस्कने गरी व्यायाम गर्ने।

–खानेबित्तिकै सुत्ने वा दौडधुप नगर्ने। खाना खाएपछि ५–१० मिनेट बज्राशनमा बस्ने। खाना खानेबित्तिकै नुहाउने या खाना खानु अगाडि नुहाउने नगर्ने। नुहाउने र खानाको अन्तर एक घन्टा गर्ने। बेलुकी ७–८ बजेभित्र खाना खाने। बेलुकी ढिला खाना खानाले खाना पूर्णरूपमा पच्न पाउँदैन।

– दिनमा नसुत्ने। बेलुकी ढिला नसुत्ने। बिहान सूर्य उदाउनु अगाडि उठ्ने।  

–हरेक समय ढाड सिधा खुकुलो राख्ने।

चर्को कब्जियत हुँदा तत्काल गर्न सकिने उपायः

–बिहान उठ्नेबित्तिकै पानी पिएर मलद्वारलाई खुम्चाउने-फुकाउने गर्ने। करिब ५ देखि १० मिनेट। यसले कब्जियत खुलाउन सहयोग गर्छ।

–दुवै हात रगडेर तातो बनाएर पेटमा सेक्ने अथवा हल्का मसाज गर्ने। १० देखि १५ मिनेट। यसले आन्द्रा खुलाएर मल निष्कासन गर्न सघाउँछ।

कस्तो व्यायाम गर्ने ? 

कब्जियत हुनेले दैनिक बिहान एक घन्टा व्यायाम गर्नुपर्छ। त्यसका लागि बिहान हिँड्न सकिन्छ। योग-व्यायाम गर्न सकिन्छ। तर अधिक मोटोपन छ भने पहिला खाना मिलाएर तौल कम गर्ने अनि मात्र व्यायाम गर्ने।

कब्जियत खुलाउने योग आसनहरूः 

बिहान उठ्नेबित्तिकै ३ देखि ४ गिलास पानी पिएपछि निम्न व्यायाम गर्नेः

१. उठबस– सिधा उभिने। खुट्टालाई १ फिट फटाउने। दुवै हात दायाँबायाँ सिधा राख्ने। सास छोड्दै बस्ने र तान्दै उठ्ने। १० पटक गर्ने। 

२. उर्धो ताडासन– खुट्टालाई भी आकारमा राख्ने। दुवै हात दुवै कानबाट सिधा लगेर लक गर्ने। विस्तारै गहिरो सास तान्दै खुट्टाको पन्जाले मात्र टेकेर सबै शरीर र हात तनक्क तन्काउने। मनमनै ३० गन्ने। विस्तारै सास छोड्दै तल झर्ने। पाँच पटक गर्ने।

३. तिर्यक ताडासन– खुट्टा २ फिट फटाउने। दुवै हातलाई कानबाट सिधा लगेर माथि लक गर्ने। अब सास छोड्दै विस्तारै बायाँ झुक्ने (जति सकिन्छ त्यति)। यसो गर्दा दुवै हात कानबाट सिधा तन्काउने, सबै बल कोखातिर पर्छ। मनमनै १० गन्ने र सास तान्दै बीचमा फर्कने। पालैपालो पाँच-पाँच पटक गर्ने।

४. अर्ध चन्द्रासन–दुवै खुट्टा जोड्ने। दुवै हातलाई कानबाट सिधा टाउकोमाथि नमस्ते गरेर राख्ने। अब अघि जस्तै सास छोड्दै बायाँ झुक्ने। मनमनै १० गन्ने र सास तान्दै सिधा हुने। पाँच-पाँच पटक गर्ने।

५. त्रिकोणासन– खुट्टा जति सकिन्छ त्यति फटाउने। दुवै हात दायाँबायाँ सिधा राख्ने। अब सास छोड्दै बायाँ हातले बायाँ खुट्टा छुने। घुँडा नखुम्च्याइकन र दायाँ हातलाई बायाँ कान छुवाउँदै सिधा तन्काउने र हत्केलालाई हेरिरहने। करिब १० गन्ने। अब सास तान्दै बीचमा आउने। पाँच-पाँच पटक गर्ने।

६. कटि चक्रासन– खुट्टा करिब २ फिट जति फटाउने। दुवै हात अगाडि सिधा राख्ने। विस्तारै सास छोड्दै कम्मरलाई मोड्दै हातलाई १८० डिग्रीमा मोड्ने, टाउको घुमाएर मोडिएको हात हेरिरहने। मनमनै १० गन्ने र सास तान्दै सिधा हुने। पालैपालो पाँच-पाँच पटक गर्ने।

७. कौवासन–खुट्टा एक फिट जति फटाएर टुक्रुक्क बस्ने। दुजै हात दुवै घुँडामा राख्ने। विस्तारै सास छोड्दै बायाँ घुँडाले दायाँ खुट्टाको बुढी औंला छुवाउने, हिपलाई दायाँ खुट्टामाथि राख्ने, कम्मरलाई बायाँतिर मोड्ने र टाउकोले पछाडि भुइँ हेर्ने। १० गन्ने र सास तान्दै बीचमा फर्कने। पालैपालो पाँच-पाँच पटक गर्ने। 

यी आसन एक चक्र गरिसकेर पनि मल निष्कासन नभए फेरि दुई गिलास पानी पिउने र आसनहरू गर्ने। करिब ५ चक्र गरेपछि मल निस्कासन हुन्छ।

दिसा गर्दा पटक्कै बल नगर्ने। केही दिनसम्म यसको अभ्यास गरेपछि बिहान पानी पिउनेबित्तिकै दिसाको संकेत आउन  थाल्छ। बिहान दिसाको संकेत आउनु भनेको आन्द्राले ठीक ढंगले काम गर्नु हो।

यी सरल नियम पालना गरेपछि कब्जियत जीर्ण भए पनि औषधि नखाई घरमै निको पार्न सकिन्छ। तर अहिले संसारभर भइरहेको अनुचित आहार, अव्यस्थित जीवनशैली र गलत उपचारले कब्जियत निको नहुने समस्याका रूपमा विकसित भइरहेको छ।

कब्जियतबाट मात्र होइन, सबै समस्याबाट मुक्त रहन सदा उचित आहार, तीन बराबर आहार, दैनिक व्यायाम र उचित विचार हुनुपर्छ। 

(लेखक रामदेवी महर्जन योग तथा उचित आहार, विहार, विचार प्रशिक्षक हुन्।)

Comments

Related Post

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १...

काठमाडौँ, २ कार्तिक । सरकारले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) लगाउन यात्रुलाई आग्रह गरेको छ । कोरोना...

काठमाडौँ, २ कार्तिक । नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ । भारतीय...