कोटेश्वर–कलङ्की सडकमा ट्राफिक बत्ती जडान गरिने

काठमाडौँ, १२ माघ । सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभागले दुई वर्ष पहिले चीन सरकारका आर्थिक सहयोगमा विस्तार भएको कोटेश्वर–कलङ्की सडकमा सात स्थानमा बत्ती राख्न लागेको हो ।

विभागले सवारीसाधनको चाप बढी भएका र पैदलयात्रु बढी भएका सडकमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । यस सडकमा चालू आवभित्रै सम्झौता गर्ने योजना रहेको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए । चक्रपथका विभिन्न खण्डमा बत्ती राख्न चालू आवमा बजेट नभए पनि अर्को वर्ष निरन्तर हुने गरी सम्झौता गरिने उनको भनाइ छ । उनले भने, “यो वर्ष ठेक्का सम्झौता भइसकेर अर्को वर्ष बनिसक्नेछ ।” सरकारले दुई वर्ष पहिलेदेखि उपत्यकाका विभिन्न सडकमा र जेब्राक्रसिङमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । बढी सवारी चाप भएका ठाउँमा बत्तीका कारण सवारीसाधन व्यवस्थापन गर्न सजिलो भएको देख्न सकिन्छ । विभागले चालू आवभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गर्दैछ ।

उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोक र त्यहाँका आठ जेब्राक्रसिङमा बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख ओझाले जानकारी दिए । ती बत्ती जडानका लागि रु एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ । विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेका थिए । पहिले थापाथलीमा एउटा निजी सस्ंथाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । सो प्रविधि सफल नभएपछि संस्थाले बत्ती निकालेर लगेको उनले जानकारी दिए ।

तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उनले बताए । रासस

Comments

Related Post

चीनले बिदेशी विद्यार्थीलाई अहिले प्रवेश दिएको छैन । पढाई सकिने सकिने बेला चीनबाट फैलिएको कोभिडबाट बच्न नेपाल आएका उनीहरु फेरि...

राजनीतिमा होमिनेका आ-आफ्नै भावना, विचार र लक्ष्य होलान्। रौतहटको यमुना गाउँपालिका-३ घर भएका लखिन्द्र दास तात्मा दलित माथिको भेदभाव अन्त्य गर्न चाहन्थे। जातीय...

भक्तपुरको एक होटलमा ग्याँस सिलिन्डर पड्किएर आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सृजना नगरस्थित भिमेश्वर...