काठमाडौँ, १९ माघ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डको केही बेरअघि सम्पन्न बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए । रिजल्ट राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट, टेलिकमकै आईभीआर सेवा १६०१ डायल गर्नुका साथै १६०० मा एसएमएस गरेर हेर्न सकिने बोर्डले जनाएको छ ।
प्रकाशित नतिजाअनुसार नियमिततर्फ सहभागी ३ लाख १० हजार ३१६ परीक्षार्थीको जीपीए विवरण प्राप्त भएको छ । नतिजाअनुसार ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ६९१६ जना रहेको छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ३८ हजार ४८० जना रहेको छ यस्तै २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या १ लाख ९ हजार ३१२ जना रहेको छ ।
यस्तै २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ५२ हजार ४२७ जना रहेका छन् । यस्तै १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ७ हजार १६४, १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ३३३, ०.८१ देखि १.२० जीपीए ल्याउनेको संख्या ४ र ०देखि ०.८० जीपीए ल्याउनेको संख्या १८ हजार ८८९ रहेको छ ।

Comments